परिचय

समकालीन नेपाली साहित्यमा सर्वाधिक सशक्त, सृजनशील र कृयाशील हस्ताक्षरका रुपमा स्थापित भइसकेका साहित्यकार सरुभक्त कुनै नौलो नाम हैन । नेपाली साहित्यको भण्डारलाई भरिपूर्ण गर्न उहाँले कविता, मुक्तक, गीत, नाटक, कथा, उपन्यास जस्ता विविध विधामा विगत तीन दशकदेखि कलम चलाउदै आएको कुरा सर्वविदित नै छ। कलम चलाउनु मात्र ठूलो कुरा हैन, महत्वपूर्ण पक्ष हो सरुभक्तले कलम चलाएका विधाहरुमा उहाँले प्राप्त गरेको सफलता । उहाँको सफलताले नेपाली वाङ्मयको क्षेत्र थप समृद्ध बन्न गएको छ । तर यति नै उहाँको सीमा भने पक्कै हैन । सरुभक्त यथार्थमा सृजनात्मक प्रचुरताको अत्यधिक सम्भावना बोकेका एक साहित्यिक स्रष्टा हुन् । उहाँमा प्रशस्त सृजनात्मक ऊर्जा शक्ति छ । यसका वाहकका रुपमा उहाँसँग प्रशस्त सृजनात्मक लगन, इमानदारिता र साधना छ । यदि उहाँको सृजनात्मक ऊर्जा शक्ति, लगन, इमानदारिता र साधनामा कुनै अवरोध वा कमजोरी छ भने त्यो हो केवल व्यवस्थापकीय असुबिधा । यही व्यवस्थापकीय असुबिधा नै उहाँको सृजना यात्राको अवरोध हो भन्ने हाम्रो ठम्याई छ र यो अवरोध एक स्रष्टा सर्जकको जीवनमा एक अंश पनि रहनु हुन्न भन्ने हाम्रो मान्यता छ । यही मान्यता अनुरुप साहित्यकार सरुभक्तले भोग्नु परेका असुविधा र अवरोधलाई हटाउन यस साहित्यकार सरुभक्त सरोकार केन्द्र, नेपालको स्थापना वि.सं. २०६० सालमा गरिएको हो ।

उदेश्य

1.साहित्यकार सरुभक्तको सृजनशीलता, कृयाशीलतामा थप उर्जा प्रदान गर्ने
2.अप्रकाशित पुस्तकहरु प्रकाशन गर्ने ।
3. प्रकाशित कृतिहरुको बजार व्यवस्थापन गर्ने ।
4. सरुभक्तको व्यक्तित्व र जीवनसँग सम्बन्धित विषयवस्तुमा विशेष चासो (सरोकार) राख्ने ।