सरुभक्त: ब्यक्तित्व परिचय

प्राज्ञ सरुभक्तको जन्म वि.सं. २०१२ साल, हरितालिका तीजका दिन पोखरा उप–महानगरपालिकाको बागबजारमा भएको हो । पिता श्री गणेश बहादुर तथा माता श्रीमति लक्ष्मी देवी श्रेष्ठज्यू का पाँच भाई छोराहरु मध्ये उहाँ जेष्ठ सुपुत्र हुनुहुन्छ । 
उहाँको प्रारम्भिक शिक्षा—दिक्षा घरकै वातावरणमा भएको थियो भने औपचारिक शिक्षा गण्डकी बोर्डिङ्ग स्कुल (पुरानो नाम : गण्डकी आदर्श आवासिय बिद्यालय ) बाट प्रारम्भ भएको थियो । स्कुल अध्ययन गर्दा उहाँ हरेक वर्ष आफ्नो कक्षामा प्रथम स्थानमा रहनु भएको थियो । उहाँले एस. एल.सी. परिक्षा तात्कालिन राष्ट्रिय बहुमुखी बिद्यालय पुरानो टुँडिखेल ( हाल : राष्ट्रिय मा. बि. ) बाट दोश्रो श्रेणीमा उत्तिर्ण गर्नु भएको थियो । 
     एस. एल. सी. पछि उहाँको उच्च शिक्षा काठमाण्डौको अमृत साइन्स कलेजबाट प्रारम्भ भएको थियो । आई. एस्सी उत्तिर्ण गरे पछि उहाँको शिक्षा पोखराको पृथ्वी नारायण बहुमुखी क्याम्पसमा भएको थियो । स्नातक पछि उहाँ पुन : अध्ययनको क्रममा किर्तिपुर स्थित त्रिभूवन विश्वबिद्यालय तर्फ लाग्नु भएको थियो । जहाँ सरुभक्तले अर्थशास्त्र, मानवशास्त्र र अंग्रेजी बिषयमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको थियो । 
     बास्तविक नाम भक्त श्रेष्ठ भनेर चिनिने उहाँको साहित्यिक नाम सरुभक्त हो । उहाँको औपचारिक साहित्यिक यात्रा २०३४ सालबाट प्रारम्भ भएको हो । करिब साढे चार दशक लामो साहित्यिक यात्रामा उहाँले कविता/गीत/मुक्तक/एकाङ्की, पूर्णाङ्की नाटक/विज्ञान उपन्यास/विज्ञान कथा/बाल साहित्य/उपन्यास आदि विधामा सशक्तरुपले कलम चलाउँदै आउनु भएको छ । उहाँले नाटक, कविता लेखनमा नेपालको सर्बोत्कृष्ट पुरस्कारहरु पाउनु भएको छ । रङ्गमञ्च तर्फ लेखन, अभिनय र निर्देशनमा  उत्कृष्टता हाँसिल गरी विभिन्न पुरस्कार र सम्मान पाउनु भएको छ ।
     वि.सं. २०४८ सालमा 'पागलबस्ती' उपन्यासका लागि मदन पुरस्कार  प्राप्त साहित्यकार सरुभक्तले  देश विदेशका दर्जनौं पुरस्कार/सम्मान/अभिनन्दन ग्रहण गरीसक्नु भएको छ । हङ्गकङ्ग पोखरा, चाइना कम्पनी जस्ता लोकप्रिय गीतका सर्जक साहित्यकार सरुभक्त पहिलो चोटी वि.सं.२०६१ सालमा प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यको रुपमा मनोनित हुनु भएको थियो भने बिक्रमाब्द २०७२—७५ सम्मका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सर्वोच्च ओहदा कुलपतिमा आसिन हुनुहुन्थ्यो । 
     उहाँ राष्ट्रिय बाल प्रतिभा पुरस्कार (२०५६—७७ ) हालको गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कारका संस्थापक हुनुहुन्छ भने संरक्षण कविता आन्दोलनका संयोजक समेत हुनुहुन्छ ।
    
     उहाँका, कविता/गीत/मुक्तक/एकाङ्की, पूर्णाङ्की नाटक/विज्ञान उपन्यास/विज्ञान कथा/बाल साहित्य/उपन्यास आदि विधाका करिव ४५ वटा पुस्तकहरु प्रकाशित छन् भने करिव तिन दर्जन जति पुस्तकहरु प्रकाशन हुन बाँकि छन् ।